सबैको बचत तथा ऋण सहकारी संस्था लि.
रुपन्देही जिल्लामा उल्लेख्य संख्यामा रहेका विभिन्न सहकारी संस्थाहरूलाई एकीकृत गरी सबल, विधिवत्, प्रविधिमय र सुशासनयुक्त सहकारी संस्था निर्माण गर्ने उद्देश्यले ११ वटा सहकारीहरूको एकीकरणबाट “सबैको बचत तथा ऋण सहकारी संस्था लिमिटेड” को स्थापना गरिएको हो। रुपन्देही प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट २०७७ साल चैत्र २९ गते एकीकरण प्रमाणपत्र प्राप्त गरी तिलोत्तमा नगरपालिका–५ मणिग्राम (सिद्धार्थ राजमार्ग)मा अवस्थित आफ्नै भवनबाट यस संस्थाले हाल ८ वटा सेवा केन्द्रहरूमार्फत सेवा प्रदान गर्दै आएको छ। देशभर सहकारी क्षेत्रले वित्तीय परिचालनमा उल्लेखनीय योगदान दिइरहेका बेला केही संस्थाहरूको अपारदर्शी क्रियाकलापका कारण सहकारीप्रति आम जनमानसमा विश्वास घट्दो क्रममा रहँदा पनि, यो संस्था पूर्ण रूपमा समुदायमा आधारित रही ६ हजारभन्दा बढी सदस्यहरूको स्वामित्व, सहभागिता र विश्वासका साथ पारदर्शी ढङ्गले सेवा प्रवाह गर्दै आएको छ। यस संस्थाले गैर–सदस्यहरूसँग कुनै कारोवार नगरी सदस्यहरूकै हितका लागि प्रविधियुक्त, सहज र समुदायमैत्री सेवाहरू उपलब्ध गराउँदै आएको छ। साथै सदस्यहरूको बचत गर्ने बानी विकास, आयवृद्धि र जीवनस्तर उकास्नका लागि उत्पादनमुखी तथा स्वरोजगारमूलक कार्यहरूमा उत्प्रेरित गर्दै साना तथा कुटिर उद्योगका माध्यमबाट सीप विकास र आत्मनिर्भरता प्रवर्द्धनका गतिविधिहरूलाई निरन्तरता प्रदान गर्दै आएको छ। यसरी विशुद्ध सहकारिताको सिद्धान्तलाई अनुसरण गर्दै नेपाल सरकारले जारी गरेका ऐन र नियमहरूको पूर्ण पालना गर्दै, आम जनमानसमा विश्वसनीयता हासिल गर्न सफल भएको यो सहकारी संस्था आज एक उदाहरणीय, पारदर्शी र विश्वसनीय संस्थाको रूपमा स्थापित भएको छ।